अर्थतन्त्र उकास्न सरकारले के गर्ने

Uncategorized

भारतको मुम्बईस्थित एक होटलमा काम गर्दै आएका कैलालीका २१ वर्षीय युवा ८ चैतमा स्वदेश हिँडे । १२ वर्षको उमेरमै कामका लागि मुम्बई पुगेका उनी बेलाबेला घर आउँथे । उनको यो पटकको घर फिराइको कारण थियो, कोरोना भाइरस (कोभिड–१९) को असरले काम गर्दै आएको होटल नै बन्द हुनु । २२ चैतमा कोरोना संक्रमित पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ती युवकले नेपालसँग भने, “वृद्ध आमाबुबा हुनुहुन्छ, खेतीपाती खासै छैन । कोरोनाको असर हटेर सामान्य अवस्था भयो भने फेरि भारत जानुपर्ला, त्यतिन्जेलसम्म त म घर फर्किसक्छु होला ।” उनीमा आफू कोरोना संक्रमित भएको भन्दा पनि घरपरिवारलाई भोकले सताउने चिन्ता छ । टेलिफोन संवादमा आफू चाँडै निको भएर फर्कने भनी चिकित्सकले बताएको र स्वास्थ्य समस्या पनि जटिल नरहेको बताएका उनी घरपरिवारप्रति भने चिन्तित सुनिन्थे । उनको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईं राहतको खाद्यान्न वितरण गर्न २८ चैतमा ती युवकको घर पुगेका थिए । जीविकोपार्जनका लागि भारत जानुपर्ने बाध्यता ती युवकको मात्र होइन, तत्कालीन सुदूर र मध्यपश्चिमका लाखौँलाखको नियति हो । गत आ (असारदेखि जेठसम्म) मा भारतबाट ८१ करोड डलर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । चैतयता मात्र सवा लाख नेपाली भारतबाट फर्किएको सुदूरपश्चिम प्रदेश सरकारको आकलन छ ।

कैलालीको भजनीका गोकुल बुढा खेतीपातीको समय घरमा हुन्छन् भने अरू बेला भारतमा । पछिल्लो पटक खेतमा गहुँ छरेर गुजरातको सुरत पुगेका उनी श्रीकृष्ण नामक हीरा कम्पनीमा काम गर्थे । बुढा गहुँ काट्न घर फिर्ने तयारीमा थिए, चैत पहिलो साता । राज्य सरकारले लकडाउन घोषणा गरिदिएपछि उनी त्यतै रोकिएका छन्, बेरोजगार भएर । अहिले त पूरै भारत नै लकडाउनमा छ । धन्न कम्पनीले खान–बस्ने व्यवस्था गरिदिएको छ । भन्छन्, “कामकाज केही छैन, घर भएको भए गहुँ काट्थेँ । यहाँ २ सयभन्दा बढी नेपाली कामविहीन भएर बसेका छौँ ।” कोरोना कहरका कारण विश्व अर्थतन्त्र नै मन्दीमा छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष सन् १९३० को महामन्दीपछि विश्वभरको अर्थव्यवस्थामा दशककै सबैभन्दा खराब गिरावट हुने चेतावनी दिइसकेको छ । र, वैदेशिक रोजगारीमा गएकाका परिवार र मजदुरी गरेर जीविको चलाउने वर्ग अहिले सबैभन्दा बढी प्रताडित छ । निर्माणलगायत क्षेत्रमा मजदुरी गर्दै आएकाहरू लकडाउन अनिश्चितझैँ बनेपछि सयौँ किलोमिटरको यात्रा पैदल नापिरहेका छन् । खाडीमा रहेका नेपाली रोजगारी गुम्ने त्रासमा छन् । कति बेरोजगार बनेका छन् त कतिको कामदाम कटौती भएको छ ।

९ महिनाअघि साउदी अरब पुगेका नवलपरासीका रोशन रानामगर त्यहाँस्थित एक रेस्टुरेन्टमा काम गर्छन् । पहिले दैनिक १२ घन्टा काम गर्ने उनी अहिले ५/६ घन्टा मात्र रेस्टुरेन्टमा रहन्छन् । कोरोनाका कारण महिनाको १५ दिन त बिदा नै हुन थालेको छ । भन्छन्, “काम नै नभएपछि १५ दिनको मात्र तलब पाउने भनिएको छ, कहिलेसम्म यस्तो अवस्था हुने हो ? यस्तै हो भने त रोजगारी नै गुम्ला भन्ने पीर लागिरहन्छ ।” वैदेशिक रोजगारविज्ञ गणेश गुरुङका अनुसार नेपालका ५४ लाख घरधुरीमा ६० प्रतिशत घरपरिवार रेमिट्यान्समा भर पर्छ । भन्छन्, “यदि विदेशमा रहेका कामदारको रोजगारी गुम्ने हो भने उनीहरूका परिवारको जीविकोपार्जनको आयस्रोत नै सुक्न सक्छ ।” त्यसका लागि नेपालमा कोरोनाको असर कति समयसम्म रहन्छ भन्दा पनि नेपाली कामदार रहेका मुलुकमा दीर्घकालसम्म पर्छ कि पर्दैन भन्ने विषय महत्त्वपूर्ण हो ।

मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा रेमिट्यान्सको योगदान २५ प्रतिशत छ । वैदेशिक रोजगारीबाट नेपालमा आव ०७५/७६ मा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिएको थियो । रेमिट्यान्सकै कारण राष्ट्र बैंकलाई विदेशी मुद्रा सञ्चितिमा सहयोग पुर्‍याइरहेको छ । रेमिट्यान्स घट्ने हो भने यसले बैंकिङ तरलतामा चाप पर्ने निश्चित छ । सरकारले गत वर्ष ९ महिना मलेसियाका लागि श्रम स्वीकृति रोकिदिँदा रेमिट्यान्स भित्रने क्रम घटेको थियो । वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईंका अनुसार श्रम स्वीकृति लिएर विदेशिएका कामदारको संख्या ४० लाख हाराहारी छ । अहिले मुलुकको अर्थतन्त्र ठप्पप्राय: छ । उद्योग, कलकारखाना, परियोजना चल्न सकेका छैनन्, औँलामा गन्न सकिनेबाहेक । सार्वजनिक यातायात, होटल रेस्टुराँ, मनोरञ्जन, पर्यटन क्षेत्र ठप्प हँदा यसको असर लाखौँ श्रमिकलाई परेको छ । त्यसमा पनि असंगठित क्षेत्र भनिने दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक कामविहीन बन्दा गरिबीको रेखामुनि धकेलिने जोखिम उत्तिकै बढेको छ । मुलुकमा निर्माण क्षेत्रमा झन्डै १० लाख कामदार रहेको तेस्रो श्रम सर्वेक्षणमा उल्लेख छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा भन्छन्, “श्रमिक कामविहीन बन्दा सहर छाडेर पैदलै हिँडिरहेका छन् । उनीहरू दैनिक ज्यालामजदुरी गरेर आउने पैसाले दैनिकी चलाउँछन् । तर कामै नपाएपछि जीविकोपार्जन चलाउन नै धौधौ छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *