जसले कमाए महामारीमा उच्च नाफा

समाचार

नेपाल टेलिकम र एनसेल- महामारीका बेला राम्रो मुनाफा कमाउने दुई ठूला दूरसंचार कम्पनी हुन्, नेपाल टेलिकम र एनसेल । नेपाल टेलिकमले सन् २०२० को पहिलो त्रैमासिकमा ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा आर्जन गरेको नाफाभन्दा ४ दशमलव २७ प्रतिशत कम भए पनि कोभिड–१९ महामारीका बेला टेलिकमले कमाएको राम्रो नाफा हो । गत वर्ष टेलिकमले सोही अवधिमा ७ अर्ब ९० कारोडभन्दा धेरै नाफा कमाएको थियो । यस त्रैमासिकमा टेलिकमको कूल आम्दानी २६ अर्ब रहेको छ । लकडाउनपछि ग्राहकलक्षित विभिन्न सेवामार्फत ५८ करोड ७ लाख रुपैयाँ खर्च गरेको टेलिकमले जनाएको छ । एनसेलले पहिलो त्रैमासिकमा १ अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा एनसेलको नाफा ४ अर्ब ४६ करोड थियो । एनसेलले यस अवधिमा आर्जन गरेको कुल रकम १२ अर्ब ३ करोड रहेको छ । एनसेलले लकडाउनपछि ग्राहकलक्षित विभिन्न अफर दिँदै आएको छ । समग्रमा गत वर्षको पहिलो त्रैमासिकभन्दा नाफा घटेको भए पनि कोरोना महामारीबीच हालको नाफा पनि राम्रो देखिन्छ ।

आयल निगम- लक डाउनपछि पेट्रोलियम पदार्थको बिक्री–वितरण कम देखिए पनि नेपाल आयल निगमले राम्रै नाफा कमाइरहेको छ । पेट्रोल र डिजेलको खरिद मूल्यमा उच्च नाफा लिएर बिक्री गरिरहेकाले पनि निगमको नाफा बढेको हो । निगमले पेट्रोलमा खरिद मूल्यमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा र डिजलमा २५ रुपैयाँ ६९ पैसा नाफा लिएर बेचिरहेको छ । हाल पेट्रोल र डिजलको बजार मूल्य क्रमशः ९६ र ८५ रुपैयाँ छ । मट्टितेलमा पनि निगमले प्रतिलिटर ५५ र खाना पकाउने ग्यासमा १ सय ८० रुपैयाँभन्दा धेरै नाफा खाइरहेको छ । मे महिनाको अन्तिम १५ दिनमा मात्र ५० करोडभन्दा बढी नाफा हुने निगमले अनुमान गरेको छ । कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य घटेको सन्दर्भमा निगमले लकडाउनका कारण तेलको बिक्री कम भए पनि उच्च नाफा कमाएको हो । निगमले सन् २०२० को प्रत्येक महिनामा तेल बिक्रीवापत १ अर्ब रुपैयाँसम्म नाफा कमाउँदै आएको छ ।

बैंक- कोरोना संक्रमणको महामारीपछि प्रतिशत घटे पनि मुनाफा भने नराम्रो छैन । सन् २०२० को तेस्रो त्रैमासिकमा २१ वटा बैंकले अर्बभन्दा माथि नाफा कमाएका छन् । नबिल बैंकले ३ अर्ब १९ करोड, कृषि विकासले २ अर्ब २१ करोड, नेपाल बैंकले २ अर्ब २४ करोड, एभरेष्टले २ अर्ब २१ करोड, ग्लोबल आइएमईले १ अर्ब ८७ करोड र स्टान्डर्ड चाटर्डले १ अर्ब ७३ करोड नाफा कमाएका छन् । अर्बभन्दा बढी नाफा कमाउने बैंकहरूमा राष्ट्रिय बाणिज्य, सानिमा, प्रभु, एनएमबी, नेपाल एसबिआई, सिद्धार्थ, एनआइसी एसिया, इन्भेष्टमेन्ट र हिमालयन बैंक रहेका छन् । तथापि यसअघिको त्रैमासिकको तुलनामा बैंकहरूको नाफा घटेको छ । जसको प्रभाव ‘रिटर्न अन इक्विटी’ र सेयर बजारमा परेको छ ।

इन्टरनेट सेवा प्रदायक- लक डाउनमा उच्च नाफा कमाउनेमा इन्टरनेट सेवा प्रदायक कम्पनी निकै अघि छन् । लकडाउनमा इन्टरनेट प्रयोग घटेको छैन । कतिपय कार्यालयहरू पूर्णरूपमा बन्द नभएका कारण इन्टरनेट सेवा लिइरहेका छन् । घरमा त इन्टरनेटको प्रयोग बढेको छ । तर, इन्टरनेट कम्पनीहरूले आफ्नो मुनाफा सार्वजनिक नगर्ने हुँदा यति नै कमाई गरे भन्ने तथ्यांक भने छैन । लकडाउनपछि इन्टरनेटको प्रयोग ५० प्रतिशतले बढेको इन्टरनेट सेवा प्रदायकहरूको संगठन (इस्पान) का अध्यक्ष भोजराज भट्टले स्वीकारेका छन् । नेपालमा हाल १ सय २२ इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । निजी क्षेत्रका सेवा प्रदायक कम्पनीले ८ देखि १० डलरमा प्रति एमबिपिएस प्रतिमहिना खरिद गरेर नेपालमा ४० देखि ४२ डलरसम्ममा बिक्री गर्छन् ।

मोबाइल भुक्तानी सेवा- यो अवधिमा प्रविधिमा आधारित विभिन्न कम्पनीहरूले राम्रो नाफा कमाइरहेका छन् । त्यसैमध्येका हुन् मोबाइल भुक्तानी सेवा । यो सेवा दिइरहेको इसेवाले लकडाउनको समयमा उच्च नाफा कमाइरहेको जानकारहरू बताउँछन् । लकडाउनपछि इसेवाका प्रयोगकर्ता बढेका छन् साथै सेवा–सुविधामा पनि वृद्धि गर्दै लगेको छ । नेपाल राष्ट्र बैंकबाट संचालनको अनुमति पाएको इसेवा आफैं पनि एउटा बैंकजस्तो भएको छ । जसले घरमै बसी–बसी मोबाइलमार्फत बैंकिङ प्रणालीमा पाइने हरेक सुविधा ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । लकडाउनमा घरबाट बाहिर निस्कन त्रास भएपछि ‘क्यासलेस’ सेवा अझ प्रभावकारी बनेको छ । तर, इसेवाले आफ्नो नाफा सार्वजनिक नगर्ने भएकाले तथ्यांकमा देखाउन भने गाह्रो छ । त्यस्तै यसै अवधिमा प्रभु पे, खल्ती, आइएमई पे, फोन पेलगायतका अनलाइन तथा मोबाइल भुक्तानी सेवाले यतिबेला प्रयोगकर्ता बढाइरहेका छन् । यस्ता कम्पनीको प्रयोगकर्ता जति बढ्छ, नाफा पनि उति नै बढ्ने गर्छ ।

नेपालमा प्रयोग, विदेशी कम्पनीलाई फाइदा- लकडाउनको समयमा विदेशी कम्पनी र तिनका उत्पादन तथा सेवा पनि नेपालमा धेरै प्रयोग भएका छन् । नेपालमा सफ्टवेयर, गेमिङ, भिडियो स्ट्रिमिङ क्षेत्रका कम्पनी त्यति प्रभावकारी छैनन् । त्यसैले यसमा प्रायः विदेशी कम्पनीका सफ्टवेयरहरू प्रयोग भइरहेको छ । लकडाउनपछि घरबाटै काम गर्न विभिन्न एप प्रयोग भइरहेको छ । त्यसमध्येको एक हो– जूम । लकडाउनअघि एपको प्रयोग कर्ता १ करोड हाराहारी थिए, यस अवधिमा दोब्बर भइसकेका छन् । नेपालमा पनि यसको प्रयोग तीव्र गतिमा बढिरहेको छ । त्यस्तै, फुर्सदिलो भएपछि घरमा बसेर गेम खेलेर दिन बिताउनेको संख्या ह्वात्तै बढेको छ । अनलाइन गेम अधिकांशको रोजाइमा परेको छ । तर, नेपालमा बनेका अनलाइन गेमको प्रयोग खासै भएको छैन । विदेशी कम्पनीले लञ्च गरेका गेमिङ एप्स नै धेरैले प्रयोग गरिरहेका छन् । लकडाउनकै समयमा लञ्च भएको ‘कल अफ ड्युटी’ नामक गेमको ११ लाखभन्दा बढी प्रयोगकर्ता हुन त्यसैको उदाहरण हो । युट्युब र नेटफ्लिक्सले पनि यतिबेला मनग्य आम्दानी गरिरहेका छन् । मानिसहरू घरमा बस्दा नेटफ्लिक्समा फिल्म र सिरिज अनि युट्युबमा भिडियो हेरेर समय बिताइरहेका छन् । नेपालमा यस्ता कुनै कम्पनी छैनन् । सिनेमा हल बन्द भएसँगै फिल्म हेर्ने गतिलो प्लाटफर्म नेपालमा छैन । डिस होमले पछिल्लो समय नयाँ फिल्महरू देखाउँदै आए पनि त्यति प्रभावकारी हुन सकेको छैन । डिस होम आफैँ भने लक डाउनको समयमा पनि नाफामा छ । उसले विभिन्न अफरहरू पनि ल्याइरहेको छ । अमेजनले लकडाउनको समयमा आफ्नो सम्पत्तिमा २४ अर्ब डलर थपेको छ । अनलाइन सपिङ प्ल्याटफर्म अमेजनले नेपालमा पनि सेवा दिन्छ । नेपालमै पनि अनलाइन सपिङ प्ल्याटफर्म कम्पनीहरू भए पनि लकडाउनमा प्रभावकारी सेवा दिन सकिरहेका छैनन् । नेपालीहरू अनलाइन सपिङमैत्री भइ नसकेका कारण लकडाउनमै पनि पसल धाउने नै बढी छन् । यो बेला अनलाइन सपिङको ट्रेन्ड बढ्ने आशा गरिए पनि उत्साहजनक प्रगति हुन नसकेको जानकारहरू बताउँछन् । त्यसैले स्वदेशी अनलाइन सपिङ प्ल्याटफर्म कम्पनीले भने अपेक्षित मुनाफा कमाउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *