फैलदो भक्काको स्वाद

समाज

दुई दशक बित्दानबित्दै भक्का यसरी फैलियो, अब घरघरमै आउँदैन, भक्का खान चाहनेहरू नै चोक–बजारसम्म धाउनुपर्ने भएको छ । चिसो मौसम सुरु भएपछि तराईमा विशेष गरी झापा र मोरङ जिल्लाका चोक–बजारमा भक्का खानेको भीड देख्न सकिन्छ । झापा– २०५० को दशकसम्म राजवंशी महिलाहरू भक्का लिएर एकाबिहानै घरघर डुल्थे । खान इच्छुकहरूले सट्टामा धान दिन्थे र भक्काले भोक मार्थे । भक्कासँग साटेर ल्याएको धान घरमा भात खान र भक्काका लागि चामलको पिठो बनाइन्थ्यो । न्यून आर्थिक अवस्था भएका राजवंशी महिलाहरूले यसरी नै परिवार चलाउँथे । दुई दशक बित्दानबित्दै भक्का यसरी फैलियो, अब घरघरमै आउँदैन, भक्का खान चाहनेहरू नै चोक–बजारसम्म धाउनुपर्ने भएको छ । चिसो मौसम सुरु भएपछि तराईमा विशेष गरी झापा र मोरङ जिल्लाका चोक–बजारमा भक्का खानेको भीड देख्न सकिन्छ । अचेल भक्काको व्यापार निकै फस्टाएको छ । बिहान मात्रै होइन, बेलुका पनि भक्काको मौसमी व्यापारले ग्राहक राम्रै बटुल्ने गरेको छ । बिहान तीन–चार घण्टामै राम्रो आम्दानी हुने भएकाले आदिवासी महिलाहरूमा भक्काको व्यापार निकै जमेको छ । परम्परागत ‘खान्की’ भएकाले राजवंशी र ताजपुरिया जातिबाहेकका महिलाले भक्का बनाउन जान्दैनथे । तर अचेल, राजवंशी, ताजपुरियासँगै माझी, श्रेष्ठ, राई, लिम्बू, मुस्लिम, ठाकुर, यादवलगायतका समुदायका महिलाले भक्काको व्यापार राम्रो चलाएका छन् ।

यतिबेला झापाका सहर, बजार र चोकहरूमा झिसमिसेमै भक्का खान पाइन्छ । भक्का बनाउनेहरूलाई ग्राहकले बेहुलीझैं चारैतिरबाट घेरेका हुन्छन् । चिसो मौसममा ताजा पाइने भक्का बिहानको खाजामा उत्कृष्ट मानिन्छ यता । कुनै मिसाउट हुँदैन । शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाइने भएकाले भक्का अग्र्यानिक र स्वस्थकर पनि हुन्छ । नुन–खुर्सानीको धूलो र टमाटरको अचारमा भक्का खान्की जाडोमा न्यानो खाजा खोज्नेको पहिलो रोजाइमा पर्ने गरेको छ । भक्का चामलको पीठोबाट बनाइन्छ । मात्राअनुसार चामललाई करिब दुई घण्टासम्म पानीमा भिजाउनुपर्छ । पानीबाट निकालेर थिग्राउनुपर्छ । ओखली, ढिकी वा मिलमा कुट्नुपर्छ । पीठोलाई मसिनो चाल्नीले चाल्नुपर्छ । त्यसपछि थोरै पानी हालेर मुछ्नुपर्छ । पानीले मुछेर पीठोलाई नरम बनाउनुपर्छ । एउटा भाँडामा पानी उमाल्नुपर्छ । भाडामाथि माटोबाट बनाइएको दुलो परेको डकन राख्नुपर्छ । उक्त डकनलाई भाँडाभित्रको बाफ कतैबाट ननिस्किने टाल्नुपर्छ । उम्लिएको पानीबाट निस्किने बाफमाथि भक्का पकाइन्छ । पानीले मुछेर नरम बनाएको पीठोलाई बटुकामा हालेर नरम सुतीको कपडाले बेरेर वाफ निस्किँदै गरेको डकनमा राखेपछि भक्का पाक्छ । बाफमा भक्का पाक्न करिब दुई मिनेटको समय लाग्छ ।

भक्काको लोकप्रियता बढ्दै गएपछि झापाका आदिवासी राजवंशी समुदायले ‘राष्ट्रिय भक्का दिवस’ मनाउन थालेका छन् । भ्रमण वर्ष–२०२० सँगै जोडेर पुस २९ गते बिर्तामोडमा सांस्कृतिक कार्यक्रमसहित राजवंशीहरूले भक्का खाएर दिवस मनाए । परम्परागत खान्की भक्काको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले पुस २९ लाई भक्का दिवसका रूपमा मनाउन थालेको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । राजवंशी जातिमा जाडो सिजनमा भक्का खाने पुरानो चलन छ । छोरी–चेलीलाई चिसो मौसममा माइती बोलाएर मीठामीठा परिकारसँग भक्का खुवाउने चलन रहेको छ । मंगलबार भक्का दिवसमा एक कार्यक्रम आयोजना गरी राजवंशी जातिले अधिकांश गैरराजवंशी समुदायलाई नि:शुल्क रूपमा माछा तरकारी, भान्टा–कोपी–मुलाको तरकारी र टमाटरको अचारसँग भक्का खुवाए । ‘आममानिसले भक्कालाई सामान्य खाजाका रूपमा मात्र बुझेका छन् । तर, हाम्रो जातिभित्र यसको महत्त्व धेरै छ’ कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले भने । भक्का दिवस कार्यक्रम पनि फ्रन्टले नै आयोजना गरेको थियो । शुद्ध चामलको पीठोबाट बनाइने तथा कुनै मिसावट नहुने भएकाले भक्का राजवंशीको मात्र नभई सबै जातजातिको खाजा बन्न सकेको बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले बताए । ‘परम्परागत खानाको संरक्षण र प्रवद्र्धनमा राजवंशी जाति आफैं लागेपछि खुसी लागेको छ । अग्र्यानिक र स्वस्थ्यकर खाना जुनसुकै जाति समुदायको भए पनि राज्यले प्रोत्साहन गर्नुपर्छ,’ प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने । भक्का दिवस मनाउन भारतको मेघालय, असाम, पश्चिम बंगाल र बिहारका राजवंशीहरूसमेत बिर्तामोड आएका थिए । भारतबाट आएका राजवंशी युवतीहरूले जातीय पहिरनमा र्‍याम्प समेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *