राइडरलाई रोजीरोटीकै समस्या

समाचार

रौतहटमा लामो समय अध्यापन गरेर काठमाडौं आएका हितलाल मुखियाले केही समय काठमाडौंको विद्यालयमा कक्षा ९ र १० लाई विज्ञान विषय पढाए । दुई छोरा, एक छोरी, श्रीमती र आफू गरेर पाँच जनाको परिवार अध्यापन पेशाबाट सजिलै नचल्ने भएपछि उनले पठाओको राइडिङ एप डाउनलोड गरे र दुई पाङ्ग्रे सवारीमा राइडिङ सेवा दिन सुरु गरे । आम्दानी राम्रो हुन थालेपछि फुल टाइम राइडर बनेका हितलाललाई लकडाउनले तनाव दिएको छ । मासिक १३ हजार कोठाभाडा कसरी तिर्ने भन्ने पिरलो छ, छोराछोरीको पढाइमा खर्च हुने मासिक २० हजार रुपैयाँ बचेको भए पनि घरखर्च भने घटेको छैन । एकाबिहानैदेखि मध्यरातसम्म राइडिङ गरेर मासिक ५० हजारसम्म आम्दानी गर्ने गरेका उनलाई लक डाउनपछि २५ हजार ऋण लागिसकेको छ । घरबेटीलाई ३ महिनाको भाडा दिन सकेका छैनन् । साप्ताहिकसँग आफ्नो दुःख पोख्दै उनी भन्छन्, ‘काठमाडौंमा खान–बस्न गाह्रो भएर ७ दिनअघि रौतहट आएको छु । गाउँमा खेतबारी छ, आफन्त तथा साथीभाइ छन् । अब त सुख, दुःख गरेर चल्ला नि ।’

हितलालजस्तै राइडिङ सेवा दिएर रोजीरोटी चलाइरहेकाहरूको बिचल्ली भएको छ । त्यसको अर्को उदाहरण हुन्– राजेशकुमार श्रेष्ठ । उनले राइडिङबाट ५ जनाको परिवारको आवश्यकता पूरा गरिरहेका थिए । राम्रो कमाइ हुन थालेपछि रङ लगाउने काम छाडेर दुई पाङ्ग्रे सवारी राइडर बनेका उनको लकडाउनपछि आम्दानीको स्रोत नै बन्द भयो । छोरा–छोरी, श्रीमती र आफू गरेर ५ जनाको परिवारलाई साँझ–बिहानको छाक टार्न नै गाह्रो हुन थाल्यो । साथी र आफन्तसँग सर–सापटी गरेर जेनतेन दुई छाकको जोहो त गरे तर, कहिलेसम्म पुग्थ्यो ऋण गरेको पैसाले । लक डाउन खुकुलो भएपछि अहिले उनी पुरानो काममै फर्किएका छन् । साप्ताहिकसँग राजेश भन्छन्, ‘लकडाउन खुलेपछि राइडिङ गर्न पाइन्छ भन्छन् । आज खुल्ला, भोलि खुल्ला भन्दा–भन्दै ३ महिना सकियो । अति नै भएपछि अहिले पेन्टिङको काममा फर्किएको छु । पेट त भर्नै पर्यो के गर्नु !’ राइडिङ कम्पनीहरूको तथ्यांकलाई आधार मान्ने हो भने टुटल, पठाओलगायत कम्पनीमार्फत् झन्डै ७५ हजारले दुई पाङ्ग्रे सवारी सेवा दिइरहेका थिए । यसमध्ये धेरै अन्य रोजगारीमा संलग्न भएका पनि छन् । केही भने यसलाई नै मुख्य रोजगारीको माध्यम बनाएर जीविका चलाउनेहरू पनि थिए । उनीहरू यतिबेला सबैभन्दा बढी समस्यामा परेका छन् ।

त्यसैमध्येकी एक हुन्– सीता लामा । उनी गृहणी हुन्, धेरै पढेकी छैनन् । त्यसैले अनेकौँ प्रयास गर्दा पनि काठमाडौंमा जागिर पाइनन् । एक छोरीकी आमा सिताले एक वर्षअघिदेखि मोबाइल राइडिङ एप टुटलमार्फत यात्रुलाई सेवा दिन थालिन् । त्यसपछि आवश्यक खर्चका लागि उनले विदेशमा रहेका श्रीमान्को मुख ताक्नुपरेन । सबै राम्रै चल्दै थियो । नेपालमा कोभिड–१९ संक्रमण त्रास भित्रियो । लकडाउन भयो । यसरी ३ महिनादेखि उनले यात्रुलाई राइडिङ सेवा दिन पाएकी छैनन् । उता श्रीमान्ले विदेशबाट पैसा पठाउने अवस्था पनि छैन । सीता भन्छिन्, ‘राइडिङ एप मेरा लागि जागिरजस्तै भएको थियो । दिनमा १२–१५ सय कमाइ हुन्थ्यो । लकडाउनले सबै बर्बाद पार्यो ।’ लक डाउनअघिसम्म राइडिङ एपको प्रयोग गरेर दुई पाङ्ग्रे सवारीमा यात्रा गर्ने यात्रुको संख्या ४५ हजार हाराहारी थियो । झन्डै ११ लाखले राइडिङ एप डाउनलोड गरेका थिए । उनीहरूलाई गन्तव्यमा पुर्याएर दैनिक १७ हजारले प्रत्यक्ष रोजगारी पाइरहेका थिए । अर्थात् राइडिङ एपमार्फत यात्रा गर्ने एक यात्रुले औसत ५० रुपैयाँको यात्रा गर्दा पनि २२ लाख ५० हजार रुपैयाँ राइडिङ कम्पनीको हातमा परिरहेको थियो । धेरैले राइडिङ कम्पनीमा रोजगारीसमेत पाएका थिए । टुटलका सहसंस्थापक शिक्षित भट्ट लकडाउनका कारण कार्यालयमा काम गर्ने कर्मचारीलाई तलब खुवाउनसमेत गाह्रो परिरहेको बताउँछन् । ‘लकडाउन त खुकुलो भएको छ । मोटरसाइलमा २ जना यात्रु पनि चढ्न थालेका छन् । तर, आधिकारिक रूपमा सरकारले यात्रुवाहक सवारी चलाउने निर्णय नगरेका कारण हामीले दुई पाङ्ग्रे सवारी चलाउन पाएका छैनौँ ।’

भट्ट राइडरहरूले आफूहरूको रोजीरोटी गुम्यो, छिटो खोल्नुपर्यो भन्दै फोन गरेर समस्या पोखिरहेको बताउँछन् । तर, आफूहरुको हातमा केही नभएकाले उनीहरूको कुरा सुन्नुबाहेक अर्को विकल्प नरहेको उनको भनाइ छ । टुटल र पठाओलगायत कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनी हुन् । तथापि यातायात व्यवस्था ऐन विपरीत दुई पाङ्ग्रे सवारीमार्फत यात्रु बोकेको भन्दै यातायात व्यवस्था विभागले पटक–पटक यी कम्पनीमाथि रोक लगाउने प्रयास गर्दै आइरहेको छ । विभागले सूचना नै जारी गरेर मोबाइल एपमार्फत दुईपाङ्ग्रेमा सवारी बोक्ने काम रोक्न निर्देशन दिएपछि ट्राफिक प्रहरीले केही राइडरमाथि कारबाहीसमेत गरेको थियो । त्यसैले पनि सरकारले पटक–पटक रोक्न खोजेको राइडिङ सेवालाई यस्तो बेला राहत हुने केही व्यवस्था गर्ला भनेर आशा गर्ने ठाउँ नै नरहेको संचालकहरू बताउँछन् । राइडरहरु भने सरकारले सुरक्षा नीति अपनाएर भए पनि जतिसक्दो छिटो राइडिङ एप सुरु गर्नुपर्ने बताउँछन् । राइडर राजेशकुमार श्रेष्ठ भन्छन्, ‘यात्रु र चालकको सुरक्षाको जिम्मा सम्बन्धित संस्थाले लिने गरी सरकारले राइडिङ सेवा सुरु गर्न दिनुपर्छ । अहिलेको अवस्थामा सार्वजनिक यातायताभन्दा यही सुरक्षित छ भन्ने मलाई लाग्छ ।’ तर, राजेशले भनेजस्तो अहिले नै राइडिङ सेवा सुरु गर्ने अवस्था भने छैन । सरकारले ट्याक्सी संचालनमा समेत प्रतिबन्ध लगाएका हुनाले राइडिङ सेवा संचालन हुन दिने सम्भावना नदेखेको टुटलका भट्ट बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *