पीडामा पाइलट : काम पाउनै मुस्किल

समाज

सन् २००८ देखि २०१५ सम्म पाइलट कोर्स गर्न विदेश जानेहरूको संख्या निकै थियो । तर, रोजगारीको अवसर नहुँदा २०१६ मा आएर यो संख्या घट्यो । २०१७ पछि फेरि पाइलट बन्ने क्रेज बढेको छ । परिणामस्वरूप तीन वर्षमा विदेशबाट कोर्स सकेर आएकामध्ये ३० जना पाइलट बेरोजगार हुनुपर्‍यो । सन् २००९ मा अस्ट्रेलियाको बासियर एभिसन कलेजबाट पाइलट कोर्स गरेर आएका अभयकुमार टन्डन उडान सुरक्षा मानक विभागले लिने जाँच पास भए । त्यसपछि जागिरका लागि नेपालका सबै एयरलाइन्स कम्पनी पुगे । तर, जागिर पाएनन् । शैक्षिक ऋण लिएर पाइलट बन्ने सपना बुनेका उनले पढाइका क्रममा ७० लाख रुपैयाँ सिध्याए । दुई वर्षसम्म जागिर नपाएपछि बाँकेका टन्डनले नेपालगन्जमा पेट्रोलपम्प खोले । अहिले उनी सोही व्यवसायमा रमाइरहेका छन् । सन् २०१३ मा फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेर नेपाल फर्किएका आदित्य ठाकुरले जहाज उडाउन नपाएपछि एक संस्थामा असिस्टेन्ट मार्केटिङ म्यानेजरका रूपमा काम गरिरहेका छन् । नेपाल आएर कमर्सियल पाइलट लाइसेन्स (सिपिएल) परीक्षा उत्तीर्ण गरेका उनलाई मापदण्ड परिवर्तन भएको भन्दै पाइलट बन्न एअरलायन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटिपिएल) कोर्स गरेर आउन भनियो । उनले भारतको हैदराबादमा गएर थप कोर्स गरे । दुवै कोर्स गर्दा ६० लाख सकियो । तर, जागिर पाएनन् । ‘मैले सिपिएलको परीक्षा पहिल्यै पास गरिसकेका थिएँ । सुरक्षा विभागबाट एटिपिएल कोर्सको ज्ञान पनि लिएर आउनुस्, फेरि सिपिएलको परीक्षा दिन पर्दैन भन्नुभयो । मैले त्यसै गरेँ,’ आदित्य भन्छन्, ‘एटिपिएल पनि पास गरेँ । फेरि सिपिएलको परीक्षा दिनुपर्छ भन्नुभयो । परीक्षा दिन जाँदा विदेश गएर लाइसेन्स अद्यावधिक गरेर आऊ भन्न थाल्नुभयो । फेरि १० लाख खर्च गर्ने अवस्था थिएन । साथीहरूले जागिर पनि पाइरहेका थिएनन् । त्यसैले ममा त्यो सामथ्र्य आएन ।’

त्यतिबेला फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेर आएका आफ्ना चार जना साथीले रोजगारी नपाएपछि स्टुडेन्ट भिसामा अमेरिका र अस्ट्रेलियातिर लागेको आदित्य बताउँछन् । एक जना साथीले भने लामो समय फर्निचर उद्योगमा काम गरेर भर्खरै हिमालयन एयरलाइन्स उडाउन थालेको उनले जानकारी दिए ।
सन् २०१० मा फिलिपिन्सबाट पाइलट कोर्स गरेर आएका शत्रुघन गुप्ताले अग्नि एयरमा सबै प्रक्रिया पूरा गर्दासमेत जागिर पाएनन् । ५० लाख खर्च गरेर आएका उनले जागिर नपाउने छाँट देखेपछि पाइलट बन्ने सपना त्यागे, अनि सुरु गरे– सुनचाँदी व्यवसाय । आफ्नो रुचिको पेसा त्यागेर व्यवसाय गर्नु बाध्यता रहेको उनी बताउँछन् । भन्छन्, ‘मेरो ब्याचका १२ जना साथी विदेश पलायन भए । मचाहिँ गइनँ ।’ सन् २०१४ ताका पाइलट कोर्स गरेर आएका कपिल बस्यालले जागिर नपाएपछि अमेरिका गएर इन्जिनियरिङको पढाइ रोजे । हाल उनी अमेरिकामा बस्छन् । इन्डोनेसियाली विमान लायनका क्याप्टेन एवं प्रशिक्षक वेद उप्रेती जागिर नपाएर काठमाडौंमा फरक पेसा र व्यवसायमा लागेकाहरू पाइलैपिच्छे भेटिने बताउँछन् । यस्ता पाइलट मोटरसाइकल वर्कसपदेखि कफी हाउससम्म भेटिन्छन् । उनीहरू आफ्नो पहिचान लुकाएर काम गर्न बाध्य छन् । धेरैले स्नातक गरेर पढाइअनुसारको पेसा गरिरहेका छन् भने कोही आइइएलटिएस गरेर विदेश पलायन भएका छन् । भविष्यमा बेरोजगार पाइलटको संख्या बढ्ने देखिएको र त्यतिबेला फेरि यो अवस्था आउन सक्ने क्याप्टेन उद्धव घिमिरे बताउँछन् । बेरोजगारी बढ्दै, पाइलट थपिदै

नेपालका कुनै पनि निकायसँग अहिलेसम्म विदेशबाट पाइलट कोर्स गरेका आएका वा कोर्स गर्न विदेश गएकाहरूको यकिन तथ्यांक छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतसँग पनि सन् २०१५ पछिका तथ्यांकमात्र उपलब्ध छन् । जसअनुसार सन् २०१७ पछि अनुमति लिएर पाइलट कोर्स गर्न विदेश जानेको संख्या २ सय ७० छ । यीमध्ये सन् २०२० को जनवरीसम्म ७६ पाइलट स्वदेश फर्किएका छन् । सन् २०१५ देखि २०१९ सम्म १ सय २३ जना पाइलटले कमर्सियल पाइलट लाइसेन्स (सिपिएल) लिएका छन् । त्यसअघि नै सिपिएल लिनेको संख्या ४ सय ६० थियो । हेलिकप्टरका लागि ८२ जनाले सिपिएल लिएका छन् । त्यसमध्ये ३५ जनाले मात्र काम पाएका छन् । एअरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटिपिएल) प्राप्त ३२ जनामध्ये १५ जना काममा छन् । हालसम्म ५० जना महिला पाइलटले सीपीएल लिएका छन् भने २० जनाले एटीपीएल ।

यसबीच नेपाल वायुसेवा निगमले आवेदन खुलायो, नयाँ एयरलाइन्स थपिए, पुराना एयरलाइन्सले पनि जहाज थपे । यसरी पछिल्लो पाँच वर्षमा नयाँ र पुराना गरेर करिब १ सय ५० पाइलटले जागिर पाए । त्यति हुँदा पनि पाइलटहरू बेरोजगार बस्नु परिरहेको छ । तर, तथ्यांक अभावका कारण यति नै संख्या बेरोजगार छन् भन्न सकिने अवस्था छैन । प्राधिकरण स्रोतले पछिल्लो तीन वर्षमा पाइलट पढेर आएकाहरूमध्ये ३० जना बेरोजगार रहेको जानकारी दिएको छ । जसमा पाइलट पढेर अन्य पेसामा लागेका र विदेश पलायन भएकाको संख्या उल्लेख छैन । सन् २००८ देखि २०१५ सम्म पाइलट कोर्स गर्न विदेश जानेहरूको संख्या निकै थियो । तर, रोजगारीको अवसर नहुँदा २०१६ मा आएर यो संख्या घट्यो । २०१७ पछि फेरि पाइलट बन्ने क्रेज बढेको छ । परिणामस्वरूप तीन वर्षमा विदेशबाट कोर्स सकेर आएकामध्ये ३० जना पाइलट बेरोजगार हुनुपर्‍यो । त्यसभन्दा पहिले कोर्स सकेर आएका बेरोजगार त छँदै थिए । पछिल्लो तीन वर्षमा विदेश गएका अन्य २ सय २ जना पाइलट अझै नेपाल फर्कन बाँकी छ । उनीहरूमध्ये ८० प्रतिशत पाइलटमात्र नेपाल फर्कने हो भने पनि बेरोजगार पाइलटको हालको संख्या बढेर चाँडै नै २ सय नाघ्नेछ ।

प्राधिकरणको उडान सुरक्षा मानक विभाग, लाइसेन्सिङ एवं परीक्षा डिभिजनका सिनियर अफिसर महेश अर्यालका अनुसार पछिल्लो तीन वर्षमा विदेशमा पाइलट पढ्न गएकामध्ये १ सय ५० जना विद्यार्थी मात्र पनि नेपाल फर्कने हो भने उनीहरू आगामी पाँच वर्षसम्म बेरोजगार बस्नुपर्ने अवस्था छ । २०२० र त्यसपछि पढ्न जानेहरू बेरोजगारीको सूचीमा थपिँदै जानेछन् । अर्याल भन्छन्, ‘त्यसैले पाइलट पढ्न, बुझ्न आउने विद्यार्थीलाई मैले अन्य विषय पढ्न सुझाव दिने गरेको छु ।’ नेपालमा नयाँ विमानस्थल थपिन लागेको छ । विमान थप गरेमा तथा को–पाइलट र जुनियर पाइलटको प्रमोसन भएको अवस्थामा नयाँ पाइलटले अवसर पाउनेछन् । पछिल्लो समय सरकारले एयरलाइन्स कम्पनीलाई मर्ज गर्ने र नयाँ कम्पनी खोल्न कम्तीमा पनि तीनवटा जहाज हुनुपर्ने मापदण्ड ल्याउने तयारी गरेको छ । यो मापदण्ड लागू भएर नेपालको हवाई उडान क्षेत्रमा थप प्रगति भएन पाइलटले रोजगारी पाउने अवसर छ । नत्र बर्सेनि २०–३० को संख्यामा रोजगारी पाएर पाइलट बेरोजगारको संख्या न्यून हुने कुनै सम्भावना छैन ।

स्वदेशीलाई मौका
विदेशमा २ सय घण्टाभन्दा धेरै विमान उडाएर तालिम लिएका पाइलटहरू सिपिएल लाइसेन्सका लागि अब्बल हुन्छन् । पछिल्लो मापदण्डअनुसार सीपीएल गरेपनि एटीपीएलको अनुभव सँगाल्नुपर्छ । नेपाल आएर सीपीएल लाइसेन्स परीक्षा पास गरेपछि जागिरका लागि आवेदन दिन सकिन्छ । जागिर पाउने भएपछि फेरि लाइसेन्स परीक्षा दिनुपर्छ । यो परीक्षा पास गरेपछि मात्र पाइलटको हातमा विमान उडाउने लाइसेन्स आउँछ । हिलो पटक एयरलाइन्समा जागिर खाँदा को–पाइलट अथवा जुनियर–पाइलटका रूपमा प्रवेश गर्न सकिन्छ । १५ सय घण्टा विमान उडाएपछि एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) लिन पाइन्छ । एटीपीएल भएका पाइलट सिनियरको हैसियतमा क्याप्टेन हुन्छन् । हालसम्म नेपालमा ३ सय ८२ पाइलटले एटीपीएल लाइसेन्स लिएका छन् । तर, एटीपीएल हुँदैमा विमान उडाउन पाउँछन् नै भन्ने छैन । एयरलाइन्सको मागअनुसार विमान उडाउन पाउने हो । हालसम्म २ सय ३१ जना यस्ता पाइलटले मात्र विमान उडाएका छन् । यसमध्ये पनि पछिल्लो समय धेरै विदेश गएका छन् भने केहीले अवकाश पाएका छन् । नेपाल एयरलाइन्समा त यस्ता पाइलटको चरम अभाव छ ।

जुनियरको योग्यता पुग्दा पुग्दै पनि बढुवा नगर्ने र रिक्त पदमा विदेशी क्याप्टेन ल्याउने गरेका कारण यस्तो समस्या आएको पाइलटहरू बताउँछन् । यो समस्यालाई जल्दोबल्दो रूपमा लिएर विदेशी पाइलटको स्थानमा नेपालीलाई नै कसरी सक्षम बनाउने भन्ने विषयमा ध्यान दिनुपर्ने उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् । यसरी को–पाइलटलाई क्याप्टेन बनाइएको खण्डमा नयाँ–नयाँ पाइलटले उनीहरूको स्थानमा जागिर पाउने हुँदा यो विषयलाई गम्भीर रूपमा लिनु आवश्यक रहेको उनले बताए । ‘अहिले हामी विदेशबाट क्याप्टेन ल्याएर विमान उडाइरहेका छौं । नेपालमै रहेका को–पाइलटलाई क्याप्टेन बनाउने वातावरण बनाउने हो भने बेरोजगारीको समस्या केही हदसम्म भए पनि हल हुँदै जान्छ,’ क्याप्टेन वेद उप्रेती भन्छन् । पछिल्ला वर्षहरूमा नेपालमा क्याप्टेनको अभाव भएका कारण विमान नउडेका समाचार आइरहेका छन् । तर, भएका पाइलटलाई क्याप्टेन बन्ने अवसर दिइएको छैन । १५ सय घण्टा विमान उडाएकाहरूलाई सम्बन्धित एयरलाइन्सले नै एटीपीएलका लागि पठाउनुपर्ने हो । तर, त्यसो भएको छैन । बरु अभाव पूर्ति गर्न विदेशीलाई ल्याउने क्रम बढ्दो छ । हाल ३५ जना विदेशी पाइलट नेपालमा रहेको सुरक्षा मानक विभागले जनाएको छ ।

त्यसो त, क्याप्टेन वेद उप्रेती कोर्स सकेका पाइलटले नेपाललाई मात्र आफ्नो बजारका रूपमा लिन नहुने बताउँछन् । ‘विश्वलाई नै बजारका रूपमा लिएर कोर्स गर्ने हो भने धेरै पाइलट बेरोजगार हुनु पर्दैन,’ उनी भन्छन्, ‘अहिले संसारभर पाइलट अभाव छ । धेरै भएको नेपालमै हो ।’ हेलिकप्टरमा भने पाइलटको अभाव नै छ । पोसाक नै प्रोफेसनलजस्तो नहुने भएका कारण हेलिकप्टरमा पाइलटको आकर्षण कम हुने गरेको जानकारहरू बताउँछन् । नेपालबाट अहिले फिलिपिन्स, साउथ अफ्रिका, अमेरिका, क्यानाडा, माल्टालगायतका देशमा विद्यार्थीहरू पाइलट कोर्सका लागि जाने गरेका छन् । देशअनुसार सीपीएल लाइसेन्स प्राप्त गर्दासम्म ५० लाखदेखि ८० लाखसम्म खर्च लाग्ने गर्छ । ६ वर्ष बेरोजगार भएँ, मेल्सम ओझा, पाइलट – २०१२ मा अमेरिकाबाट पाइलट कोर्स सकेर आएपछि ६ वर्ष बेरोजगार बस्नुपर्‍यो । जागिरका लागि धेरै प्रयास गरे पनि सफल भइएन । कुनै पनि एयरलाइन्सले जागिरका लागि आवेदन नखोल्दा अब हाम्रो जीवन त्यत्तिकै जाने त होइन भन्ने प्रश्न मनमा खेल्यो । कोर्स पूरा गर्न ४६ लाख खर्च भयो । पोखराको दुईतले घर बिक्री गरेर त्यो पैसा जम्मा भएको थियो । यस्तो अवस्थामा कुनै व्यवसाय गर्ने कि भन्ने सोच नआएको पनि होइन । मसँग पढेका कतिपय साथी विदेश जानुभयो । कतिले अन्य पेसा थाल्नुभयो । तर, लाखौँ लगानी गरेर पढिसकेपछि फेरि त्यति नै लगानी लगाएर व्यवसाय गरेर परिवारलाई आर्थिक भार दिने मन लागेन । एक दिन त कसो पाइलट नबनौंला भनेर नयाँ ट्रेन्डका बारेमा घरमै अध्ययन गरेँ । राजनीतिशास्त्रमा भर्ना भएर स्नातक गरेँ । दुई वर्षअघि नेपाल एयरलाइन्समा लोकसेवा लडेर नाम निकालेँ । तर, अझै विमान उडाउन भने पाएको छैन ।

पाइलट पढ्दा लागेको ऋण पेट्रोलपम्प खोलेर तिरेँ, अभयकुमार टन्डन – अस्ट्रेलियाबाट पाइलट कोर्स पूरा गरेर २००९ मा नेपाल फर्किएँ । शैक्षिक ऋण लिएर पढ्न गएको थिएँ । ७० लाख खर्च भयो । दुई वर्ष जागिरका लागि प्रयास गरेँ । कुनै उपाय नलागेपछि काठमाडौंबाट नेपालगन्ज आएँ । ऋण बढ्दै थियो । ब्याज धेरै तिर्नुपथ्र्यो । परिवारको सुगर मिल थियो । त्यो व्यवसायले ऋण तिर्न सक्ने अवस्था थिएन । त्यसैले मैले पेट्रोलपम्प खोल्ने विचार गरेँ । पाइलट पढेर पेट्रोलपम्पमा काम गरेको देख्दा धेरैले गिज्याउँथे । त्यतिबेला आफ्नो सपना सम्झिएर निकै पीडा हुन्थ्यो । तर, ६ वर्षमा ऋण तिर्न सफल भएको छु । सुख, दु:ख चलिरहेको छ । बेलाबेला पूरा हुन नसकेको आफ्नो सपनाले झस्काइरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *