लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

समाज

विद्यालय धाउनु पर्ने छैन, होमवर्क गर्नुपर्ने छैन, असाइनमेन्ट पूरा गर्नु छैन, परीक्षाको तयारी गर्नु पनि छैन । घुमफिर गर्न, साथीसंगीसँग खेल्न, आफन्तकहाँ जान, किनमेल गर्नु पनि छैन । दिनभर के गर्दै बस्ने ? अहिलेका बालबालिकासँग थुप्रै विकल्प छन् । उनीहरू घण्टौंसम्म स्मार्टफोनमा हराउन सक्छन्, टेलिभिजनमा रमाउन सक्छन् । गेम, युट्युबदेखि फेसबुकसम्ममा उनीहरू एकोहोरिन सक्छन् । त्यसैले अहिलेका बालबालिकासँग खेल्नका लागि न दौतरी चाहिन्छ, न आमाबुवा । तर, यो खुसी मान्नुपर्ने कुरा होइन । ‘परिवार, आमाबुवा, साथीसंगीबाट एक्लिएर आफैं रमाउनु र खेल्नु सुखद संकेत होइन’ मनोविद् करुणा कुँवर भन्छिन्, ‘यसरी मोबाइल वा टिभीमा लिप्त हुने बालबच्चाहरूमा असामाजिक प्रवृत्ति विकास हुनपुग्छ ।’ पढ्ने–लेख्ने बानी छुट्ने, सुत्ने र उठ्ने तालिका गडबड हुने, धेरै र अनियन्त्रित खाने, एकोहोरो र असामाजिक हुने, आमाबुवाको कतिपय नराम्रो आनीबानीबाट प्रभावित हुने र केही समयका लागि भनेर अभिभावकले जे पनि गर्न दिने छुटले बानी बिगार्ने हुनसक्छ । त्यसैले अहिले घरमा रहेका बालबच्चालाई कसरी सही ढंगले हेरचाह गर्ने भन्ने कुरा आमाबुवाका लागि सजिलो नभएको उनको भनाइ छ । लकडाउनको कारण मुलुकभरका करिब ७७ लाख बढी बालबच्चा घरभित्रै थुनिएका छन् । पाँच वर्षअघिको तथ्यांकले पाँचदेखि १७ वर्ष उमेर समूहका बालबालिकाको संख्या ७७ लाख बढी देखाउँछ । आधिकारिक तथ्यांक सार्वजनिक नभए पनि त्यो संख्या बढेको अनुमान गर्न गाह्रो छैन । त्यसमध्ये धेरैजसो बालबच्चा सहरी क्षेत्रमा छन्, जो आमाबुवासँग सानो परिवारमा बस्दै आएका छन् ।

अर्कोतिर अहिले आमाबुवा दुवै कामकाजी छन् । बालबच्चासँग समय बिताउन पाइरहेका थिएनन् । तर, कोरोना भाइरसको जोखिम बढ्दै गएपछि गरिएको लकडाउनले भने आमाबुवा र बालबच्चालाई आपसमा नजिक ल्याइदिएको छ । बालबच्चाले आफ्ना आमाबुवासँग धीत मर्ने गरी खेल्न र रमाउन पाएका छन् । जस्तो भक्तपुरकी राधा आचार्यकै कुरा गरौं । बुटिक सञ्चालन गर्दै आएकी उनी अहिले छोरी संस्कृतिसँग रमाइरहेकी छिन् । ‘छोरीलाई घरायसी काम सिकाइरहेकी छु’ राधा भन्छिन्, ‘सागसब्जी केलाउन, पिज्जा, पानीपुरी, चाउमिन बनाउन जानिसकेकी छिन् ।’ साथसाथै उनले यो बिदाको समयमा छोरीलाई बगैंचाको काममा खटाइन् । छोरी संस्कृतिले फूलहरू रोप्ने, सिँचाइ गर्ने, गोडमेल गर्ने काम गरिरहेकी छिन् । रोजबड स्कुलमा पढिरहेकी छोरीका लागि उनले यस्तो समय तालिका बनाइदिएकी छिन् । बिहान र साँझ दुई घण्टा पढाइ । दुई घण्टा व्यायाम । खाना खाइसकेपछि परिवारसँग लुडो, चेस खेल्ने । बाँकी समय खानेकुरा बनाउने र फूलबारी स्यहार्ने । राधा भन्छिन्, ‘फुर्सदको समयमा पनि उनलाई हामीले व्यावहारिक कुराहरू सिकाइरहेका छौं ।’

पारिवारिक परामर्शदाता रमा कार्कीका अनुसार अहिले बालबच्चालाई घरायसी कामकाज सिकाउनु बढी उपयुक्त हुन्छ । विद्यालय वा पाठ्यक्रमभन्दा पनि बाहिरका जीवनोपयोगी कुराहरू सिकाउने मौका हो । कार्की भन्छिन्, ‘विद्यालय जान पर्दैन, होमवर्क गर्न पर्दैन भनेर उनीहरूको खाने र सुत्ने तालिका जथाभावी गरिदिनुहुँदैन । दैनिक तालिका मिलाइदिनुर्छ ।’ अहिलेका बालबच्चालाई मोबाइल, ल्यापटप, ट्याबजस्ता कुराबाट अलग गर्नु चुनौतीपूर्ण भएको कार्की बताउँछिन् । ‘बालबच्चामा खराब लत लाग्ने जोखिम हुन्छ’ उनी सुझाउँछिन्, ‘त्यसैले बढीभन्दा बढी समय उनीहरूलाई रचनात्मक काममा लगाउनुपर्छ । साथसाथै आमाबुवा पनि त्यसमा संलग्न हुनुपर्छ ।’ लकडाउनको कारण घरभित्र बसिरहेका बालबच्चामा खराब प्रवृत्ति विकास हुने जोखिम पनि उत्तिकै रहेको बताउँछिन्, मनोविद् करुणा कुँवर । ‘यतिबेला आमाबुवाले रेखदेख गर्ने र उनीहरूसँग बढी समय बिताउने गर्नुपर्छ’ उनी भन्छिन्, ‘यदि त्यसो गरिएन भने खाली दिमाग सैतानको घर भनेजस्तै हुनसक्छ ।’

छोरालाई घरको काम सिकाउँदैछु, हाम्रा दुई छोरा छन् । एउटा त अहिले सानै छ । उसलाई पढाउने वा नयाँ कुरा सिकाउने गरेको छैन । आफैं खेल्छ, नाच्छ । हामी पनि ऊ नाच्दा इन्जोय गर्छौं । ठूलो छोरोले अनलाइन पढ्ने, होमवर्क गर्ने गरिरहेको छ । उसको बुवा (दीपक विष्ट)ले बिहानको समयमा गणित सिकाइरहेका छन् । त्यसबाहेक हामीले यो फुर्सदमा उसलाई घरको कामहरू सिकाइरहेका छौं । उसलाई चिया पकाउन, सामान्य लुगा धुन र खाजा बनाउन सिकाइरहेका छौं । अहिले हामीलाई अल्छी लागेको बेला उसलाई नै चिया बनाउन लगाउँछौं । आफूले खाएको भाँडावर्तन आफैं माझ्छ । ब्रेकफास्ट पनि आफैं बनाउँछ । हामीले लकडाउनपछि छोरालाई दिनभरको डायरी लेख्न लगाइरहेका छौं । दिनभर उसले के गर्‍यो वा के–के भयो भन्ने कुरा साँझ टिपोट गर्छ । यसरी हामीले छोरालाई घर व्यवहारको काम सिकाइरहेका छौं । म त छोरोसँग खेलिरहेकी छु

अहिले छोरो रियो चार वर्षको भयो । ऊ प्रायजसो एक्लै खेल्छ, आफ्नो खेलौनासँग । लकडाउनपछि भने हामी पनि उसको खेलमा सहभागी भइरहेका छौं । रियोसँगै खेल्छौं । हामी आमाबुवाले बच्चाका लागि बच्चा हुन सिक्नुपर्छ । बच्चाको साथी हुनुपर्छ । उसलाई आँगनमा लगेर साइकलमा चढाउँछु, फुटबल खेलाउँछु । ऊ सानै भएकाले पढ्ने, लेख्ने गराएको छैन । बरु चित्र कोर्न लगाउने, हस्तकला सिकाउने गर्छौैं । उसलाई हामी कथा पढेर सुनाउने गर्छौं, राइम्स गाएर सुनाउने गर्छौं । अहिले धेरै बच्चा घरभित्र भएकाले उनीहरू उदास पनि हुनसक्छन् । तर, उनीहरूलाई भुलाउनका लागि मोबाइल, टिभी हेर्न दिनेभन्दा पनि नयाँ कुरा, हस्तकला आदि सिकाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *