नेपाल स्वर्ग हो – कतारी राजदूत अल हेल

समाज

कपिलवस्तु, कात्तिक ९ गते । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उहाँको भनाइ छ । यहाँका नेपालीको अवस्था बुझ्न आउनुभएको राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताउनुभयो । कपिलवस्तुका नागरिक कतारमा बढी नै सङ्ख्यामा भएकाले उनीहरुको परिवार र बाललिबालिकाको अवस्था बुझ्न यहाँ आउनुभएको हो । रोजगारीका सिलसिलामा कतारमा रहेका लगनशील नेपालीको रहनसहन, बोली, भाषा, दैनिकी, जीविकोपार्जनको अवस्था बुझ्न आएको राजदूत हेलले जानकारी दिनुभयो । कतारी राजदूतले यहाँका बालिबालिका संसारकै राम्रा रहेको जनाउँदै तिनको शैक्षिक अवस्था सुधार गर्न स्थानीयवासीसँग आग्रह गर्नुभयो । कपिलवस्तुको भौतिक संरचना, सडक, बत्ती, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रको विकासका लागि कतार नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको उहाँले बताउनुभयो । राजदूत हेलले रुपन्देहीको लुम्बिनी र कपिलवस्तुको कृष्णनगर क्षेत्रको अवलोकन गर्नाका तथा बालबालिकाका अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । । सो अवसरमा जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री अकबाल शाहले राजदूतलाई कृष्णनगर क्षेत्रको अवलोकन गराई वस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो । नेकपाको भ्रातृ सङ्गठन मुस्लिम इत्तेहात संगठनका केन्द्रीय अध्यक्ष सिराज फारुकीले नेपालीले कतारमा दुःख गरेकाले कतार सरकारले तिनको तलब बढाउनुपर्ने प्रस्ताव राख्नुभयो । आज बिहान यहाँ आउनुभएका राजदूत साँझ काठमाडौँ फर्कनुभएको छ ।

काठमाडौँ, कात्तिक ६ गते । मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको महामारी जोखिमलाई ध्यानमा राखी शक्तिपीठमा परम्परा धान्नबाहेक पशुबलि नहुने भएको हो । कोभिड–१९ महामारीका कारण मुलुकका अधिकांश मन्दिरमा नित्यपूजा बाहेक मन्दिरमा नजान सर्वसाधारणलाई अनुरोध गरिएको छ । दशैँ तथा अन्य चाडबाडमा शक्तिपीठ तथा मन्दिरमा गएर पूजाअर्चना गर्ने तथा भाकलअनुसारको बलि चढाउने विभिन्न समुदायमा प्रचलन रहिआएको छ । कोभिड–१९ का कारण शक्तिपीठमा घुइँचो र भीडभाड कम गर्ने हेतुले शक्तिपीठमा पशुबलि घटाइएको हो । पशुबलि घटाइएपछि शक्तिपीठमा विकल्पमा कुभिण्डो र नरिवल चढाइने छ । काठमाडौँको हनुमान ढोका र भक्तपुरपुरमा अष्टमी र नवमीका दिन ठूलो सङ्ख्यामा हुँदै आएको पशुवली यसवर्ष परम्परा धान्नमा मात्र सीमित गरिदैँछ ।

हनुमानढोकाभित्रको मूलचोकमा महाअष्टमी र नवमीका दिन ५४ बोका र ५४ राँगाको बली दिने गरिन्थ्यो । दशैँमा पशुबलिको साटो कतिपय स्थानमा कुभिण्डो र घिरौँला चढाउने चलन छ । धर्म र संस्कृतिका नाममा महामारी फैलिन गई जनताले दुःखकष्ट भोग्न नपरोस् भन्नका लागि विकल्पमा कुभिण्डो र नरिवल चढाइने हनुमानढोका हेरचाह अड्डाका पुरोहित देवराज अर्यालले जानकारी दिनुभयो । परम्परा र संस्कृतिका रुपमा चलिआएको तलेजुलगायत शक्तिपीठमा पशुबलिकै लागि पनि सरकारले बजेट विनियोजन गर्दै आएको छ । यसैबीच, नेपाली सेनाले निशान भगवतीलाई शक्तिस्वरुपाका रुपमा मान्ने हुँदा भगवती र कोतमा बाहेक यस पटक अन्यत्र पशुबलि नदिइने जनाएको छ । त्यस्ता शक्तिपीठ र अन्यस्थानमा पशुबलिको सट्टा नरिवल र कुभिण्डो चढाउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनुभयो ।बडादशैँका अवसरमा आ–आफ्ना घरमा स्थापना गरिएका नवदुर्गा स्थलका अतिरिक्त मुलुकका ठूला शक्तिपीठ भद्रकाली, रक्तकाली, दक्षिणकाली, दन्तकाली,मनकामना, बाग्लुङ कालिकालगायत मन्दिर परिसरमा ठूलो सङ्ख्यामा खसी, बोका, राँगा, हाँस, परेवा तथा कुखुराको बलि दिने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *